रंगेली । इलाका प्रहरी कार्यालय रंगेलीले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि पूर्वी माेरङकाे शान्ति व्यवस्था सुदृढ हुन थालेको पाइएकाे छ ।
इलाका प्रहरी कार्यालय रंगेलीले आफ्नाे माहातहत्मा रहेका स्थानीय तहमा गएर जनतासँग चिया कार्यक्रम गरेपछि विगतभन्दा अहिले आपराधिक घटनामा कमी आएकाे छ ।
प्रहरीले गाउँघर, चाेकचाेक गएर जनतासँग चिया कार्यक्रममार्फत अशिक्षित तथा मध्यम वर्गका स्थानीयलाई शान्ति सुरक्षा, अपराधका घटना, बलात्कार, चेलिबेटी बेचबिखन, लागुऔषधलगायतका विषयमा चेतनामूलक कार्यक्रम गरेपछि पछिल्लो समयमा इलाका प्रहरी कार्यालय रंगेलीमा आउने मुद्दाकाे संख्या पनि घटेकाे छ ।
रंगेली प्रहरीमा गतवर्ष शिक्षा ऐन, चाेरी, अभद्र व्यवहार, मानव ओसारपसार, जबरजस्ती करणी लागायत २ सय १० जनाविरुद्ध मुद्दा दर्ता गरेर कारबाही गरेकाे थियो । तर याे वर्षकाे हालसम्ममा सवारी दुर्घटना, आगजनी, कुटपिट लगायत गरी जम्मा ७६ जनाविरुद्ध मात्र मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।
विगतमा इलाका प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षमा भरिभराउ थुनुवा हुने गरे पनि पछिल्लो समयमा भने थुनुवासमेत १-२ जना मात्रै रहेको प्रहरीले जनाएकाे छ ।

विगतमा मुद्दा मिलाउन प्रहरी कार्यालयमा राजनीतिक दलका कार्यकर्तादेखि बुद्धिजीवी, समाजसेवीसमेत धाउने गरे पनि अहिले भने त्यसमा पनि कमी आएकाे पाइएकाे छ ।
जनतासँग प्रहरी कार्यक्रमका कारणले सामुदायिक प्रहरीमासमेत मुद्दा मामिला कम आउन थालेको सामुदायिक प्रहरीका अध्यक्ष मचिन्द्र कटुवालले बताए ।
इलाका प्रहरी कार्यालयले रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र सुनबर्सी नगरपालिकामा जनतासँग चिया कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६