काठमाडौँ । पूर्पसञ्चारमन्त्री गाेकुल बाँस्काेटाकाे घरमा बुधबार बिहान भएकाे बम विस्फाेटकाे जिम्मा नेत्रविक्रम चन्द विप्लव समूहले लिएकाे छ ।
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गर्दागर्दै विवादमा परेर राजीनामा दिन बाध्य पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटालाई भ्रष्टाचारी भन्दै कारबाही गरेकाे बताएकाे छ ।
घटनास्थलमा विप्लव समूहकाे पर्चा भेटिएकाे थियाे । जसमा ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ शीर्षकमा बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको, १९ अर्बको फोर–जी सेवा विस्तारका क्रममा करोडौँ रकम दुरुपयोग गरेको लगायतका आराेप लगाइएकाे छ ।
यस्ताे छ पर्चामा लेखिएकाेः
भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?
१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६