काठमाडौँ । निवर्तमान सञ्चारमन्त्री गाेकुलप्रसाद बाँस्काेटाकाे घर नजिकै बम विस्फाेट भएकाे छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको बताइएकाे छ । बुधबार बिहान साढे ७ बजेतिर प्रेसर कुकर बम विस्फाेट भएकाे हाे ।
बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको छ । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ ।
बम विस्फाेट गराउने समूहकाे प्रहरी टोलीले खाेजी गरिरहेको कोइरालाले जानकारी दिए ।
बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको भए पनि बुधबार भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ ।
बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्विस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन काण्डमा मुछिएपछि राजीनामा दिएका थिए ।
पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६