काठमाडौं । गत बुधबार मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएकाे छ।
त्रिवि शिक्षण अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको बताएकी हुन् ।
‘अब डिस्चार्ज गर्दा पनि हुन्छ । प्रधानमन्त्रीज्यू पनि घर जान चाहानुहुन्छ । तर घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो’, डाक्टर शाहले भनिन्, ‘यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति नै तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा २-३ दिनभित्रै डिस्चार्ज गर्न सकिन्छ । यद्यपि जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ ।’
प्रधानमन्त्रीलाई पूरै सक्रिय हुन ६ महिना लाग्ने पनि डा. शाहले बताइन् । ‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पूरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ । तर नियमित काम गर्न समस्या हुन्न’, उनले भनिन्, ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६