काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन ।
नेपाली सेनाको व्यवस्थापनमा ४ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको उक्त आयोजना कार्ययोजनानुरूप सम्पूर्ण काम अघि बढिरहेको छ ।
मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएकोे द्रुतमार्ग निर्माण सेनाले इतिहास रच्ने अवसरका रूपमा लिएर कामलाई तीव्रता दिएको छ । उक्त आयोजनामा हालसम्म कुनै पनि चिनियाँ ठेकेदार र कामदार संलग्न नभएका कारण कोभिड–१९ को असर नपरेको हो ।
खरिद ऐनको प्रक्रिया र केही नीतिगत निर्णयका कारण हुने ढिलाइबाहेक आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म कुनै बाधाअड्चन नभएको हुँदा कार्ययोजनानुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पारे । आयोजना अहिले परामर्शदाता कम्पनी छनोटका क्रममा छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक चासो दिएर हेरिएको ७२।६ किलोमिटर लम्बाइको उक्त राजमार्गको निर्माणले नेपालको आर्थिक विकासमा कायापलट ल्याउने विश्वास गरिएको छ । द्रुतमार्गमा रहने ठूला–साना ८७ पुलमध्ये विशेष प्रकारका १६, ठूला ४९ र साना २५ पुल छन् । उक्त राजमार्गले ललितपुरमा ७.७, काठमाडौँमा ४, मकवानपुरमा ५३.२ र बारामा ७.६ किलोमिटर क्षेत्र समेट्ने छ ।
सेनाले जटिल मानिएका ठूला १६ पुलको निर्माण आगामी २०७७ सालको पुसमा सुरु गर्ने छ भने तीबाहेकका अरू पुलको निर्माण आगामी भदौमा सुरु गर्ने बताइएको छ । उक्त मार्गमा ९९ कल्भर्ट निर्माण हुने छन् ।
महादेव डाँडामा ३.३५५, धेद्रेमा १.६३ र लेनडाँडा १.४३ किमी लम्बाइका बोग्लाबेग्लै आते/जाते गर्न मिल्ने सुरुङ निर्माण गरिने छ । मख्खुबेँसी, महादेवडाँडा, लेनडाँडा, राजदमार र निजगढमा माटो परीक्षणका लागि प्रयोगशाला बनाइएको छ ।
उक्त मार्ग निर्माणका क्रममा कटान गर्नुपर्ने ९७ प्रतिशत रूख काटिइसकिएको छ । आयोजनालाई अघि बढाउने क्रममा २८ लाख घनमिटर माटो कटान गरिएको छ भने सडक छेउको पर्खाल निर्माण र माटो भर्ने काम पनि द्रूतगतिमै अघि बढेको छ ।
नेपाली सेनाले मक्खुबेँसी, सिस्नेरी, लेडडाँडा, बुदुने, महादेव डाँडा, धेद्रे, राजदमार, बागदेव र निजगढ क्याम्प खडा गरी कटिङ तथा फिलिङको काम गरिहेको छ । बाराको निजगढ इलाकाको १० किलोमिटर क्षेत्रमा दु्रतमार्गले २७ मिटर फराकिलो आकार लिइसकेको छ ।
दर्जनौँको सङ्ख्यामा स्काभेटर, डोजर, लोडर, टिपरसहितको जनशक्ति अहिले अहोरात्र खटिरहेको छ । आगामी आर्थिक वर्षको प्रारम्भमै सुरुङ र पुललाई ११ वटा क्लस्टरमा विभाजन गरी तोकिएकै समयावधिभित्र पूरा गर्ने हिसाबले एकैसाथ काम अघि बढाउने प्रवक्ता पाण्डेले जानकारी दिए ।
हाल आयोजनाको सडक खण्डमा पर्ने क्षेत्रमा कटान तथा माटो भर्ने काम भइरहेको छ । यो काम आगामी असार मसान्तभित्रै सम्पन्न हुँदैछ । आयोजनामा पुल र सुरुङबाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ । सोमध्ये कूल ३१ किलोमिटरको काम करिब सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो दूरीको उक्त द्रुतमार्गको लागत अनुमान रु एक खर्ब ७५ अर्ब रहने अनुमान गरिएको छ । आयोजनाको समष्टिगत प्रगति नौ प्रतिशत र वित्तीय प्रगति पनि सोही हाराहारीमा छ ।
ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जेडिने उक्त दु्रतमार्गको ट्र्याक पनि नेपाली सेनाले नै खनेको थियो । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्नेछ ।
नेपाली सेनाले आवश्यकतानुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माण गर्नेछ । राष्ट्रिय गौरवको त्यसमाथि हालसम्मकै ठूलो आयोजना निर्माण प्रक्रिया द्रुतरूपमा नै अगाडि बढेको छ । निर्माण कार्यलाई तीव्रता दिने क्रममा सडकलाई २४ क्षेत्रमा विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीबाट काम गराउने प्रयास भइरहेको छ ।
द्रुतमार्गका लागि सुरुङ र विशेष प्रकारका पुल निर्माणलाई भने सेनाले चुनौतीका रूपमा लिएको छ । सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने अनुमान गरिएको छ । दायाँबायाँ ५० मिटर जग्गा अधिग्रहण गरिएको २७ मिटर चौडाइको उक्त राजमार्ग चार लेनको हुनेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६