काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गरिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको छ । ‘कोरोना भाइरसको अहिल्यैकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन’, नियन्त्रक जोशीले भने, ‘भाइरसका कारणले मुलुकमा नै संकट घोषणा गर्नुपर्ने अवस्था आयो भने सोच्नुपर्ने हुन्छ ।’
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे छलफल गरेका थिए । स्वास्थ्यमन्त्री ढकालले अहिल्यैकै अवस्थामा परीक्षा रोक्नुपर्ने अवस्था नरहेकोले त्रिविलाई यथावत् रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए ।
त्रिवि अन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गते, स्नातकोत्तर तह चौथो सेमेस्टरको चैत ८ गते, स्नातकोत्तर दोस्रो सेमेस्टरको चैत २२ गते, शिक्षा शास्त्रको १ वर्षे बिएड चैत ९ गते, स्नातक तहको कानुन संकायको दोस्रो तहको परीक्षा चैत १४ गते सुरु हुँदै छ ।
परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा आगामी चैत ५ गतेभित्र सक्न निर्देशन दिइसकेको छ । रासस
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६