चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरसको उद्गमस्थल वुहान पुगेका छन् । कोरोनाको संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानी बुहानबाट कोरोनाको संक्रमण सुरु भएको थियो । कोरोनाको संक्रमण घट्दै गएपछि राष्ट्रपति सी वुहान पुगेका हुन् । उनले वुहानमा प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।
उनले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई पनि भेट्ने चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार मंगलबार बिहानसम्म चीनमा ८० हजारभन्दा बढीमा कोराना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये ६० हजारभन्दा बढी निको भइसकेका छन् । त्यस्तै मंगलबार बिहानसम्म चीनमा संक्रमणबाट ३ हजार १ सय ३६ को मृत्यु भइसकेको छ ।
सोमबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६