लहान । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार १ जनालाई सिरहा प्रहरीले पक्राउ गरेकाे छ । कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर ०५९ सालदेखि फरार भोला यादव पक्राउ परेका हुन् ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाहीका ५५ वर्षीय भोलालाई इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको गस्ती टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका बेला पक्राउ गरेको हो ।
यस्तै कुटपिट मुद्दामा फरार सिरहाका ४५ वर्षीय रामअशिष यादव पनि पक्राउ परेका छन् । पुनरावेदन अदालत जनकपुरबाट एक महिना १५ दिन कैद र ७ सय रुपैयाँ जरिवाना सजाय पाएर ०६१ सालदेखि फरार यादवलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।
त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा ३ महिना कैद जरिवाना सजाय पाएर फरार भुलनीदेवी सदायलाई पनि पक्राउ गरिएको छ । सिरहाको अर्नामा गाउँपालिका–५ कि ५० वर्षीय सदायलाई लेनदेन बिगो मुद्दामा ०७६ मङ्सिर २० गते अदालतले कैद सजायको फैसला गरेको थियो ।
अदालतको आदेशपश्चात फरार सदायलाई इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई साेमबार पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेस गरिएको छ । रासस
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६