काठमाडौं । गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ ।
नौतलाको काम जारी रहेको, हालसम्मको ३३ प्रतिशत सम्पन्न र ८५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी दिए ।
२ वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले पुनःनिर्माणको जिम्मा पाएको थियो । जम्मा तीन अर्ब ४८ करोड रुपैयाँ खर्च हुने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनः निर्माणको शिलान्यास गरेका थिए। अहिले दैनिक १५० कामदार निर्माणमा खटिएका छन्। पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुने छ ।
२ वटा लिफ्ट पनि हुने छ । साथै एउटा परम्परागत भर्याङ रहने छ । लिफ्ट र भर्याङ २ वटै माध्यमबाट धरहरा चढ्न सकिने छ।
४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहने छ ।
बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्। गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइने छ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुने छन् ।
बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ ।
पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६