महोत्तरी । कुसमयको हुरीबतास र मधुवा ( डढुवा) समस्या बढेपछि यहाँका फलपूल किसान चिन्तित भएका छन् । आँपको फूलमा मधुवा बढेपछि दुःखित बनेका यहाँका किसान कुसयममा हुरीबतास आएपछि थप पीडामा परेका हुन् ।
अहिले आँप, लिचीसहितका फलका मज्जर कलिला छन्, सानोतिनो हुरीले नै झारी दिन्छ , महोत्तरीको जलेश्वर नगरपालिकाको पिगौना बस्तीका ७५ वर्षीय फलफूल किसान महेन्द्र साहले भने, पानी पर्नेसम्म त स्वभाविकै हो, तर फागुनमै हुरीबतास त…! के हुन आँटेको बुझ्नै सकिएन । यहाँ गत शुक्रबार र शनिबारको हुरीबतासले धेरै ठाउँमा आँप, लिचीका मज्जर झारेको थियो ।
लहलहाएकै बेला आएको हुरीबतासले लहरे तरकारीलाई समेत नोक्सानि गरेको छ । पानी मात्र पर्दा फलफूल र तरकारीलाई फाइदा नै भए पनि हुरीबतास आएपछि मज्जर र टिकोला झार्ने भएकाले किसानको चिन्ता बढेको हो ।
मधेसमा सामान्यतया चैत मध्यपछि हुरीबतासको मौसम मानिन्छ । चैत मध्यपछि मज्जर छिप्पिएर टिकोला (चिचिला) लाग्न थालेपछि सामान्य हावाहुरी खेप्नसक्ने हुँदा कम क्षति हुने किसान बताउँछन् । तर फागुनमै हावाहुरी चल्न लाग्दा कलिला मज्जर बग्रेल्ती झरेको बर्दिवास नगरपालिका–१२ का किसान खडानन्द सिंह बताउनुहुन्छ ।
आफ्नो बगैँचाका आँपका रुखमा पात नदेखिने गरी मज्जर खेलेको देख्दा दङ्ग परेका जिल्लाको भङगाहा नगरपालिका–४ का गङ्गाराम महतो अहिले मधुवा बढेपछि पिरोलिएका छन् ।
जिल्लाको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा गत साताको हावाहुरीले मज्जर झारेको छ । मधुवा नियन्त्रण गर्न धौधौ परेको बर्दिवास–९ पशुपतिनगरका फलफूल किसान जवाहर महतो बताउँछन् ।
त्यसैगरी बर्दिवास–९ कै जवाहरकै छिमेकी ब्रह्मदेव महतोको बगैँचामा विभिन्न जातका गरी ५० आँपका रुख छन् । यसपालि पहेँलपुर मज्जरले ढाकेका आँपका बोटमा अहिले चिचिला खेल्ने बेलामा मधुवा लागेपछि मञ्जरी डढेर कालो भएको महतोले बिरक्तिँदै बताए ।
आँपमा मज्जाले मज्जर खेलेको थियो, यसपालिचाहिँ आँप फल्ने भो भन्ने आस थियो , उनले भने, सारा आसमा पानी फेरियो, मज्जर मधुवाले डढाएर सखाप ! अनि हावाहुरी पनि फागुनमै, अब यसपालि आँपबाट उत्पादन लिने आस मर्योे ।
जिल्लाका आँपखेती सघन गरिने बर्दिवास नगरपालिकाको वडा नं ४ र ५ को माइस्थान, वडा नं १० र ११ को खयरमारा, वडा नं १२ र १३ को बिजलपुरा, गौशाला नपाको लक्ष्मीनियाँ, भरतपुर, बेलगाछी र भाण्टाबारीमा पनि मधुवाको समस्या बढेको जनाइएको छ ।
पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो , खयरमाराका किसान रामपुकार यादवले भने, अहिले त विषादी पनि कतिपटक छरिसकियो, त्यही पनि मधुवा पूरै नियन्त्रण भएन, तर फलफूलविज्ञको सल्लाहमा तीनपटक उपचार गरेपछि मत्थर भने भएको छ, तर मधवाले डढाएको मज्जर भने बौरिएन ।
बर्दिवासको खयरमारा र माइस्थानका किसानको मुख्य खेती नै फलफूल रहँदै आएको छ । फलफूलमा पनि आँप नै मुख्य भएको बर्दिवास–५ माइस्थानका वडाध्यक्षसमेत रहनुभएका दलबहादुर थापामगर बताउँछन् ।
मज्जर लाग्नासाथ मधुवाले गाँजेपछि यसपालि आँपको उत्पादन घट्ने हो कि भन्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन् ।
आँप प्रचुर फल्दा सस्तो हुने र गरिबले पनि आफ्नो आयस्ताअनुसार खान पाउँछन् , महोत्तरीको बर्दिवास–२ का वडाध्यक्ष चोलाराज प्याकुरेलले भने, यसपालि भने हावाहुरी र मधुवाले उत्पादन घटाउने लक्षण देखाएको छ, उत्पादन कम भएपछि मूल्य आकासिने भएपछि गरिब उपभोक्ताले आँप खान पाउने छैनन् ।
मधुवाको प्रकोप रोक्न रोग नलागेका रुखमा सघन उपचार बढाउनुपर्ने भङ्गाहा–६ का फलफूलविज्ञ जासर यादव बताउँछन् । उनले अहिले मधुवाको प्रकोप नै नभई समस्या मात्र भएको जानकारी दिए ।
जिल्लामा ७ हजार हेक्टर जग्गामा व्यावसायिकरूपमै आँपखेती रहेको स्थानीय तहका कृषि शाखाको अभिलेखले देखाउँछ । पछिल्ला केही वर्षयता गाउँघरमा कृषि कामदार पाउन छाडिएपछि अन्य खेती गर्न छाडेर फलफूल लगाउने क्रम बढ्दै गएको पुराना फलफूल किसान रहेका गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो बताउँछन् ।रासस)
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६