चितवन । ट्रकको ठक्करबाट चितवनमा १ पैदलयात्रीको मृत्यु भएको छ ।
पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरकाे मिनीट्रकले गएराति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । प्रहरीले दिएकाे जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना ५ ख ९६२२ नम्बरकाे ट्रकमा कटारीबाट काठमाडाैंतर्फ जाँदै गरेको ना ६ ख १५९२ नम्बरकाे बस आज बिहान ठक्कर खाएको थियो ।
ठक्करबाट बसमा रहेका ३१ जनामध्ये १० र ट्रकका चालक गरी ११ जना घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
घाइतेमध्ये ५ जनाको चितवन मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते
गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ की भोजकुमारी विक घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले साेमबार बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६