काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुंगादेखि कलंकीसम्म आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकासे पुल निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ ।
नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकासे पुल निर्माण गर्न लागिएको जानकारी दिए । आकासे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वास नगरपालिकाले लिएको छ , उनले भने ।
यसैगरी नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुंगामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको नगरप्रमुख गिरीले बताए ।
नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुंगा–कलंकी सडकखण्डमा सिसिटिभीसमेत जडान गर्न लागेको छ । सिसिटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्ने छ ।
नगरपालिकाले सिसिटिभी जडानका लागि चालू आर्थिक वर्षमा १ करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ ।
उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा नम्बर ८ मा १५ शय्याको नगरस्तरीय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । भर्खरै सञ्चालनमा आएको अस्पतालमा बर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ ।
चन्द्रागिरीका गाउँगाउँका बिरामीलाई अस्पतालसम्म ल्याउनका लागि नगरपालिकाले एम्बुलेन्ससमेत खरिद गर्न लागेको नगरप्रमुख गिरीले बताए । नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६