काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्याएको पाइएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ ।
आयोजनामा कार्यरत २-३ जना मात्रै अहिले चीन गएका छन् । उनीहरु नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर कमलराज श्रेष्ठले बताए । उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् ।
चीन गएकामध्ये १ जना परियोजना व्यवस्थापक र १ जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) छन् । उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । उनले भने, अहिले त्यहाँ भएका जनशक्ति नियमित रुपमा काम गरिरहेका पाइएको छ ।
सरकारले आगामी असारसम्ममा काठमाडौँमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यही अनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इन्जिनियर श्रेष्ठले बताए ।
दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् । झण्डै २ सय नेपाली कामदार कार्यरत छन् । तीमध्ये थोरै मात्रै दक्ष जनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन् ।
कम्पनीले गत २ महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरु योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६