कलैया । पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका १ अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।
कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।
विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो ।
अपहरणपछि निर्मम हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा शव सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो ।
हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी छन् । गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य ३ जना अहिलेसम्म फरार छन् ।
तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । हत्यामा संलग्न रहेकालाई आजीवन करावासको फैसला सुनाइएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६