कोरोना भाइरसको संक्रमण फैलिएपछि इटालीमा १ करोड ६० लाख मानिस ‘अनिवार्य क्वारेन्टाइन’मा बसेका छन् ।
इटालीका प्रधानमन्त्री गुसेप कन्टेले १४ वटा राज्यका १ करोड ६० लाख मानिसलाई अप्रिल पहिलो सातासम्म ‘अनिवार्य क्वारेन्टाइन’मा राखिएको जनाएका छन् । जीम, पुल हाउस, म्युजियम र स्कि रिसोर्ट बन्द गरिएका छन् ।
त्यस्तै, विवाह र अन्त्येष्टि पनि रोकिएको छ। नागरिकलाई आफ्नै घरमा ‘अनिवार्य क्वारेन्टाइन’मा राखिएपछि बिहे र अन्त्येष्टि पनि रोकिएको जनाएको छ ।
स्कुल, कलेज र विश्वविद्यालय पनि बन्द गरिएको छ । सबै सार्वजनिक कार्यक्रममा रोक लगाएको छ भने बार र रेस्टुरेन्ट पनि बन्द गरिएको छ । सबैलाई १ मिटरको दूरीमा बस्न आग्रह गरिएको छ । स्वास्थ्यकर्मीलाई बिदामा नबस्न आग्रह गरिएको छ ।
इटालीमा एकै दिन ५० जनाको मृत्यु भएको छ । आइतबार बिहानसम्म ३ सय ३३ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै, संक्रमितको संख्या पनि अत्यधिक बढेको छ । शुक्रबारसम्म १ हजार २ सय संक्रमित थिए भने आइतबार बिहानसम्म ५ हजार ८ सय ८३ जना पुगेका छन्।
इटालीको मिलान आसपासको लोम्बार्डी क्षेत्रसहित भेनिस पर्मा, रिमिनी सहरहरुमा थप संक्रमण फैलनबाट रोक्न क्वारेन्टाइन निर्माण गर्ने योजना सरकारले बनाएको थियाे।
मिलान इटालीको आर्थिक राजधानी हो। यहाँ १४ लाख मानिसको बासोबास छ। लोम्बार्डीमा १ करोड मानिसको बासोबास छ। बितेका २४ घण्टामा थप ५० जनाको ज्यान गएको बिबिसीले जनाएको छ। इटालीले लोमबार्डीको उत्तरी क्षेत्रसहित मिलान, भेनिस, पार्मा र मोडेनालाई आपतकालिन अवस्थामा बाहेकका लागि बन्द राख्ने निर्णय गरेको हो। यसबाट १६ मिलियन मानिसहरू प्रभावित हुनेछन्।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६