काठमाडाैं । डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ । बिहिबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
हिमपातका कारण डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुराको जनजीवन प्रभावित बनेको हो ।
बैतडीका उच्च पहाडी क्षेत्रमा बिहानैदेखि हिमपात भइरहेको छ । गत बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शनिबार बिहानबाट हिमपात सुरु भएको जनाएको छ । जिल्लाको खोड्पे, श्रीभावर, गर्जे लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
उता, हुम्लामा पनि भारी हिमपात भएको छ । हिजो साँझदेखि निरन्तर भएको हिमपातले तापक्रम माइनस पाँचमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
मौसममा आएको बदलीसँगै जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका लगायतका क्षेत्रमा बाक्लो हिउँ जमपछि जनजीवन कष्टकर बनेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६