काठमाडौँ । पश्चिमी वायुको प्रभावले शनिबार उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् ।
प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि छ , उनले भनिन् । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुने बताइएको छ ।
यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म मात्र कायम रहने र आइतबारबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ । हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पश्चिमी भूभागका केही स्थानलगायत मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको जनाइएको छ ।
उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ । आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका १-२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँ उपत्यकामा ०.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै नेपालगन्जमा ९५ मिलिमिटर वर्षा भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६