काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना भाइरसका कारण अत्याधिक माग बढेको र सर्वसाधारणले दैनिक उपभाेग्य सामान स्टक राख्दा अभाव सिर्जना भएको दाबी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभाेग्य सामान अभाव नहुने भन्दै नआत्तिन आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत मन्त्री भट्टले यस्ताे बताएका हुन् ।
मन्त्रालयले बजार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभागलगायत सम्बद्ध निकायहरुबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने भन्दै बजारमा विभिन्न बस्तुको अभाव नभएपनि कृत्रिम अभाव सिर्जना गरिएकाले प्रभावकारी बजार अनुगमन गर्ने तयारी गरेको छ ।
मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि सँग हाल २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले खाद्यान्न ६ महिना, नुन १० महिना र ग्यास १ महिनालाई पुग्ने स्टक रहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेकाे हाे ।
कोरोना त्रासपछि मूल्य वृद्धि भएको भन्ने जनगुनासो बढिरहेका बेला मन्त्री भट्टले स्याउ र लसुनमा बाहेक मूल्य नबढेको बताएका छन् ।
यसैगरी नेपाल आयाल निगमले पनि हल्लाको पछि नलाग्न आग्रह गर्दै ग्यास, पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा ग्यास लिन सर्वसाधारण लाइन नै बस्न थालिसकेपछि निगमले हल्लाको पछि नलाग्न आग्रह गरेको हो ।
निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले माग अनुसार ग्यास एवं पेट्रोलियम पदार्थको बिक्री भइरहेको बताए । उनले हल्लाको पछि नलाग्न आग्रह गर्दै मागे जति ग्यास दिन निगम सक्षम रहेको र ग्यास आइरहेको पनि बताए ।
उनले नाकाबन्दीका क्रममा घरघरमा राखिएका सिलिन्डर अहिले निकालिएको पनि बताए । उनले भने, त्यही पनि हामीले भने जति ग्यास दिन्छौं । कुनै अभाव हुने सम्भावना नै छैन ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६