काठमाडाैं । सुर्खेतमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको यात्रु बोकेको जिप सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भिरबाट खसेकाे हाे ।
मृत्यु हुनेमा २ जना पुरुष र १ महिला भए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुको पनि नाम थाहा हुन सकेको छैन ।
गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको चिङगाड गाँउपालिका अध्यक्ष देव बहादुर चन्दले जानकारी दिए । जिप चालकलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
यसैगरी रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काभ्रेको चौरीदेउरालीमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
२९ जना चढेकाे बस दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६