विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा रहेका २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मंगलबार राति साढे ९ बजेतिर ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनकी ६ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताए ।
घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अति व्यस्त रहने महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा जनकपुरतर्फ जाँदै गरेको ना १ क ५८२६ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । यादवको कम्मरमुनिको भाग क्षतविक्षत भएको थियो ।
सो सडकको महोत्तरीमा पर्ने पिपरा गाउँपालिका–४ मा मङ्गलबार साँझ ६ बजेतिर भएको दुर्घटनालगत्तै यादवलाई उपचारका लागि जलेश्वर अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा सघन उपचारकै क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । रासस
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६