काठमाडौँ । कारोबार पिक आवरमा चलिरहेको बेला नेपाल स्टक एक्सचेन्जको सर्भर एक घण्टा डाउन भएको छ ।
एक घण्टा सर्भर डाउन हुँदा लगानीकर्ताहरुबीच अन्यौल सिर्जना भएको थियो । लगानीकर्ताहरुले कमसल मेसिन खरिद गरिएका कारण बेलाबेला यस्तो समस्या भोग्नुपरिरहेको आरोप लगाएका छन् ।
गत वर्ष जडान गरिएको सर्भर सुरुवाती दिनमा प्रत्येक दिन जसो बिग्रिएर लगानीकर्ताहरु हैरान भएका थिए । सुरुमा सञ्चालनमा समस्या आएको भए पनि आगामी दिनमा कुनै समस्या नआउने भनिएको सो सर्भर फेरि बारम्बार बिग्रिने समस्या रहेको लगानीकर्ताहरुले जनाएका छन् ।
आर्थिक लेनदेन गरी कमसल सर्भर खरिद गरिएको भन्दै यसबारेमा अख्तियारमा समेत उजुरी परेको थियो । अनलाइनमा जाने भन्दै करोडौँमा मूल्यमा खरिद गरिएको सर्भरले लगानीकर्ताहरुलाई बारम्बार असहज बनाउने गरेको रुष्ट लगानीकर्ताहरुले जनाएका छन् ।
ब्रोकर नम्बर ५० को क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिमा कारोबार गर्दै आएका बानेश्वरका नवराज उप्रेतीले अनलाइनमा बारम्बार समस्या आइरहेकाले आफूहरुलाई अन्यौल भइरहेको गुनासो गरे ।
उनले लेनदेन गरी कमसल सर्भर खरिद गरेका कारण बारम्बार समस्या आउने र लगानीकर्ताहरुले हैरानी बेहोर्नुपरेको आरोप लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६