काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संविधानको सफल कार्यान्वयनबाट संघीयता स्थापित हुने बताएका छन् ।
शमी साहित्य प्रतिष्ठानद्वारा आयोजित अन्तक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री त्रिपाठीले नेपालको संविधान अन्य मुलुकका तुलनामा विशिष्ट र मौलिक भएकाले यसको कार्यान्वयनको विकल्प नभएको बताए ।
नेपालको संविधान जनताका प्रतिनिधिले बनाएका हुन् । केन्द्र, प्रदेश र स्थानीय तहका आफ्नै अधिकार र समावेशिताका दृष्टिले यो मौलिक छ। हामी सबै यसको कार्यान्वयनमा लागौं। संघीयताको भविष्यबारे चिन्ता नगरौं। संविधानको कार्यान्वयन हुँदा सबै कुरा कार्यान्वयन हुन्छ , उनले भने ।
कार्यक्रममा समाजशास्त्री डा. डम्बर चेम्जोङले ‘संघीयताको कार्यान्वयनमा बौद्धिक वर्गको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विद्यमान संघीयता केन्द्रीयताकै अर्काे रूप भएको जिकिर गरे ।
सो अवसरमा ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘सहरविनाको सहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई संयुक्तरूपमा दिइयो।
पुरस्कारको राशि संयुक्त १ लाख ११ हजार १ सय ११ छ । पुरस्कारका लागि २०७५ मा प्रकाशितमध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट पहिले उत्कृष्ट ५ छनोट गरी अन्तिममा २ कृति पुरस्कृत गरिएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले बताए ।
कार्यक्रममा उक्त पुस्तक खरिदकर्तामध्ये गोलाप्रथाबाट पुस्तक क्रमसंख्यामध्ये ११ हजार २१ र ९ हजार ३ सय ५९ ले २५ हजार राशिको ‘बादलभित्रको घाम पाठक पुरस्कार’ पाउने घोषणा गरियो ।
प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्ध संग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो ।
पुडासैनीको कृतिमा मधेस–तराई गाथा र अर्यालको कृतिमा नारीवादी आत्मिक प्रेम वर्णन भएको जनाइएको छ। ‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजार प्रति र पुनःमुद्रण गरी कुल २५ हजार प्रति प्रकाशन भएको जिकिर गरिएको छ ।
पुरस्कारको अक्षयकोषमा ५० लाख रूपैयाँसम्म जम्मा गर्ने लक्ष्यअनुसार हालसम्म सो पुस्तक बिक्रीबाट १७ लाख रूपैयाँ हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६