काठमाडौँ । यस वर्षको प्रि–मनसुन आइतबारबाट सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपरान्ह तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
जाडो महिना सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन सुरु भएको हो, उनले भने । तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिएको उनको भनाइ छ ।
प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भूभागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने महाशाखाले बताएको छ ।
मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ ।
पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६