काठमाडौँ । राष्ट्रियसभामा मनाेनिपत गर्ने व्यक्तिकाे विषयमा तिव्र विवादमा फसेकाे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको विवाद, एमसिसी सम्झौता अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन लगायतका विषयमा छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।
गत बुधवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा लैजान सरकारलाई सिफारिस गर्न गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्ने भनेर चुनौती दिएका थिए ।
ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् । यसले गर्दा नेकपाभित्र अध्यक्ष तहमै गम्भीर मतभेद देखिएको छ । सचिवालय बैठकमा यही विषयमा छलफल केन्द्रित हुने बताइएकाे छ ।
पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न ओलीलाई सचिवालय सदस्यहरूले निरन्तर दबाब दिइरहेका छन् । आज बस्न लागेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिइने एक सचिवालय सदस्यले बताए ।
‘आज सचिवालय बोलाइएको छ, उहाँ आफैँले अध्यक्षता गरेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न किन आनाकानी गरेको भनेर प्रश्न सोध्ने हाम्रो तयारी छ’, उनले भने ।
नेकपाका वरिष्ठ नेता माधकुमार नेपालले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र संवैधानिक प्रावधान अनुसार नै खतिवडालाई मन्त्रीमा निरन्तरता दिएर मध्यमार्गी बाटाेमा हिँड्न ओलीलाई सुझाव दिएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६