रोल्पा । सुनछहरी गाउँपालिका–६, फगामका ३८ वर्षका भानसिंह परियारलाई आफ्ना सबै छोराछोरीको नामसमेत थाहा छैन। भानसिंह जस्तै उनकी पत्नी मनसरीले पनि पुरेतले राखिदिएको सबै सन्तानको नाम सम्झेकी छैनन्। दुवैले छोराछोरीलाई घरमा बोलाउने ‐काले, भुन्टी, दाउरी, डल्ले...) नामले मात्रै चिन्छन् र बोलाउँछन्। नागरिकमा समाचार छ ।
दुई गर्भ खेर गएका मनसरीले १४ सन्तान जन्माइन्। जन्मेका मध्ये १३ (सात छोरा र ६ छोरी ) जीवित छन्। गर्भनिरोधक साधनबारे गतिलो सूचना नपाएका कारण धेरै सन्तान जन्मिएको मनसरीले बताइन्। उनी अहिले ४४ वर्षमा हिँड्दैछिन्। उनले १८ वर्षमा पहिलो गर्भधारण गरेकी थिइन्। दुईवटा गर्भ सात महिनामा खेर गएको उनले बताइन्। धेरै सन्तान भएकाले यो परिवारलाई खाना, नाना र छानाको समस्याले पिरोलेको छ।
बच्चा कति जन्माउने, कसरी हेरचाह गर्ने वा परिवारको संरचनाबारे यो दम्पतीले कहिल्यै सल्लाह गरेनन्। सुरुमा जन्मिएका एक छोरी र दुई छोरा बिहे गरेर मजदुरीका लागि पोखरा, बागलुङति गएको मनसरीले बताइन्। उनका अनुसार १३ वर्षका एक छोरा भर्खरै इँट्टाभट्टामा काम गर्न भनेर काठमाडौंतिर गएका छन्। खेल्ने र स्कुल जाने उमेरमा मजदुरी गर्न बाध्य परियार दम्पतीका सन्तानले चाडबाडमा समेत पेटभर रुखोखस्रो खाना खान पाउँदैनन्।
भानसिंह दम्पतीका केही सन्तान स्कुलको अनुहारै नदेखी हुर्किए भने केहीले स्कुल देखे पनि पढ्न पाएनन्। अहिले घरमा भएका छोराछोरी पनि नियमित स्कुल जादैनन्। केही महिनाअघि साता छोराछोरीसहित फगाम स्वास्थ्यचौकी पुगेका भानसिंह दम्पतीलाई गर्भनिरोधक साधन प्रयोग गर्न वडाध्यक्षले समेत दवाब दिए। सबैले सम्झाएपछि मनसरीले पाँच वर्षसम्म काम गर्ने गर्भनिरोधक ‘इम्प्लान्ट’ प्रयोग गरेकी छन्।
सुरुमा मनसरीलाई पतिले परिवार नियोजनका अस्थायी साधनसमेत प्रयोग गर्न हुन्न भनेका बगे्रल्ती बच्चा जन्माउनुको विकल्प भएन। ‘पहिले त परिवार नियोजनका अस्थायी साधनबारे थाहै थिएन। थाहा पाएपछि पनि श्रीमान्ले मान्नु भएन,’ मनसरीले भनिन्, ‘पोहोर एकपटक लुकेर तीनमहिने सुई लगाएको थाहा पाएपछि उहाँले सुई लगाएको ठाउँमा चिथोरेर घाउ बनाईदिनु भएको थियो।’ छिमेकीका अनुसार गर्भ नबस्ने सुई लगाएको थाहा पाएपछि भानसिंहले पत्नी मनसरीलाई शारीरिक यातनासमेत दिएका थिए। आठ महिनाअघि वडाध्यक्षले समेत भनेपछि बल्ल उनी पत्नीलाई अस्थायी साधन प्रयोग गर्न दिन राजी भएका थिए।
घरमा सिलाइकटाइ गरेर जीवन गुजरा गरिरहेका भानसिंह दम्पतीका सन्तानले न समयमा खोप पाए न खाना नै। पोषिलो खानाको त कुरै नगरौं। उनीहरूले आमाको दूधसमेत पर्याप्त खान पाएनन्। ‘मेरा बुबाका दुई श्रीमतीबाट १६ सन्तान थियौं, जसमध्ये १५ जना मरे,’ भानसिंहले भने, ‘सबैभन्दा कान्छो म मात्र बाँचेको छु। त्यसैले सकेजति बच्चा पाउने हो।’
तत्कालीन नेकपा माओवादीको द्वन्द्वका बेला तीन वर्षजति भूमिगत भएका भानसिंहले त्यतिबेला आफूले लडाकुको कपडा सिलाउने काम गरेको बताए। विस्तृत शान्तिसम्झौतापछि केही समय लडाकु शिविरमा बसेका उनी त्यसपछि घर आएका थिए। पत्नीको काम बच्चा जन्माउने र घरधन्दा गर्ने हो भन्ने मानसिकता बोकेका उनी अझै पनि बच्चा जन्माउने पक्षमा छन्। उनी भन्छन्, ‘अझै बच्चा पाउने मन छ तर सबैले गाली गरेर पत्नीको पाखुरामा औषधि राखिदिएका छन।’
‘मेरी स्टोप’ ले समय–समयमा आयोजना गर्ने परिवार नियोजनसम्बन्धी शिविरमा पुगेका कर्मचारीले पटकपटक मनसरीको अवस्था थाहा पाएपछि दम्पतीलाई बोलाएर सम्भाइबुझाई गरेका थिए। जति गर्दा पनि भानसिंहले नमानेपछि उनीहरूले वडाध्यक्षलाई सम्झाइदिन भनेका थिए। ‘मनसरीको शारीरिक अवस्था साह्रै कमजोर थियो। हामीले धेरै भन्यौं तर उहाँका श्रीमान्ले मान्नुभएन,’ मेरी स्टोपकी पशुपति खड्काले भनिन्, ‘स्वास्थ्यचौकी प्रमुख, सिस्टर र हामी सबैले सम्झायौ। केही नलागेपछि वडाध्यक्षसँग गुहार माग्यौं। वडाध्यक्षले दबाव दिएपछि बल्ल उहाँले इम्प्लान्ट राख्न मान्नुभएको हो।’
स्वास्थ्यकर्मीबाट मनसरीको शारीरिक अवस्था कमजोर रहेको र परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न स्वीकृति नदिएको जानकारी पाएपछि वडाध्यक्षले भानसिंहलाई सम्झाएका थिए। ‘उहाँले मान्नुभएको थिएन। धेरै दबाबपछि मात्र श्रीमतीलाई अस्थायी साधन प्रयोग गर्न दिनुभएको हो’, वडाध्यक्ष अमरजित पुनले भने, ‘वडाबाट पाउने सेवासुविधा रोकिदिन्छौ भनेपछि मात्र उहाँ तयार हुनुभयो।’
वर्षौंदेखि जनस्वास्थ्यका नाममा करोडौं रुपैयाँ खर्चेको जिल्ला स्वास्थ्य कार्यालयले गरेका कार्यक्रम परिणाममुखी नभएको यो घटनाले देखाउँछ। भानसिंह र मनसरी जस्ता पात्र रोल्पाका गाउँ बस्तीमा धेरै छन्।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६