काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको युथ एन्ड स्पोर्टस कमिटीले शनिबार इन्जिनियर्स सम्मेलन दौड गर्ने भएको छ ।
शनिबार बिहान पुल्चोकस्थिति हरिहर भवनस्थित इन्जिनियर्स भवनबाट ५ किलोमिटर दौड सुरु भई नेपाल प्रज्ञाप्रतिष्ठानमा अन्त्य हुने युथ एन्ड स्पोर्टस कमिटीका अध्यक्ष इन्जिनियर प्रदीपकुमार खत्रीले जानकारी दिए । दौडमा करिब ५ सय जनाको सहभागिता हुने खत्रीले बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको १६औं राष्ट्रिय इन्जिनियर्स सम्मेलनको पूर्वसन्ध्यामा हुन लागेको महिला र पुरुष विधाको दौडमा विजयी हुनेले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने युथ एन्ड स्पोर्टस कमिटीका सदस्य सचिव इन्जिनियर अनिल मानन्धरले बताए ।
समृद्ध मुलुक निर्माणका लागि स्मार्ट भौतिक पूवार्धार भन्ने धारणालाई आत्मसात् गराउन यो दौड गरिएको मानन्धरले बताए ।
सो दौड प्रतियोगितामा दोस्रो हुनेले ७ हजार तथा तेस्ररो हुनेले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । दौड हरिहरभवनबाट सुरु भई, कुपन्डोल, वाग्मती पुल, थापाथली, माइतीघर, शहीदगेट, जमल हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुने छ ।
२१ फागुनमा विश्व इन्जिनियरिङ दिवसका अवसरमा प्रज्ञापतिष्ठान कमलादीमा १६औं राष्ट्रिय इन्जिनियर सम्मेलन हुन गइरहेकाले खेलकुदलाई समेत समावेश गर्ने उद्देश्यले दौड गरिएको अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले बताए । सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६