काठमाडाैं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार पार्टीलाई नभएको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा भट्टराईले राष्ट्रिय सभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने बताए ।
सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताए ।
उनले भने, ‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन । अस्ति १८ जनाको विषयमा पार्टीले निर्णय गर्यो निर्वाचन भयो । यो मनोनयनको विषय राष्ट्रपतिको विषय हो । पार्टीले निर्णय गरेर यो गर भन्ने होइन । सुझाव दिएको छ । त्यो सुझावलाई सरकारले कसरी लिन्छ भन्नेमा प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण र म्याच्युअर हिसाबले निष्कर्ष निकाल्नुहुन्छ ।’
भट्टराईले गौतमको विषय व्यवस्थान नहुने विषय नभएको र उपयुक्त हिसाबले व्यवस्थापन हुने बताए। नतिजा के हुन्छ भन्ने कुरा १, २ दिनभित्र टुंगो लाग्ने भएकाले अहिले बोल्न हतारो हुने उनले बताए।
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका बाँस्कोटामाथि छानबिन हुने र आरोप प्रमाणित भए कारवाही हुने उनले बताए । तर छानबिन पूरा नहुँदै अपराधी जस्तो व्यवहार गर्नु उपयुक्त नहुने भट्टराईले बताए ।
भारतसँग सीमा समस्या समाधानका लागि छिट्टै वार्ता हुने पनि भट्टराईले बताए । विदेशसचिव स्तरको वार्ताका लागि नेपालले पठाएको पत्रको जवाफ भारतले दिएपनि मिति भने तय नभएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६