काठमाडौँ । नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डिआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको छ ।
गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिको आजको बैठकले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका लम्सालले ६८ दशमलव ६६ प्रतिशत अंक प्राप्त गरेका छन् । हाल नेपाल प्रहरीका प्रवक्ता रहेका थापाले ६८ दशमलव ५५ र प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा दरबन्दी पालले ६७ दशमलव ५५ अंक प्राप्त गरेका छन् । लम्साल भने हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसँगै अवकास पाउने भएकाले अबको प्रहरी महानिरीक्षक (आईजीमा) थापा र पालमध्ये एक जना हुने छन् ।
अंकका आधारमा थापा एकतहमाथि रहेकाले उनका लागि बाटो खुला भएको छ । एआईजीको लाइनमा डिआइजीहरु नीरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल पनि थिए ।
प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्यांकन, नेतृत्व क्षमता, बढुवा समितिको अंक, शैक्षिक योग्यता, तालीम, विभूषण, चुनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र ज्येष्ठतालाई महत्वपूर्ण आधार लिइन्छ । प्रहरी नियमावली २०७१ मा एआईजी, डिआइजी र एसएसपीका लागि लागि गृहसचिवको अध्यक्षतामा सिफारिस समिति हुने उल्लेख छ ।
एआईजी सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव हुने तथा डिआइजी र एसएसपीको सिफारिस समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य–सचिव हुने प्रावधान छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६