हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष जेल र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
साथै पीडित कंशाकारको उपचारमा खर्च भएको १ करोड १४ लाख ८५ रुपैयाँसमेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ ।
अदालतले कंशाकारमाथि एसिड प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई २ वर्ष ६ महिना कैद सजायसहित ४० हजार जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।
विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा एसिड प्रहार गरेका थिए । प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए ।
वीरगञ्ज हुँदै भारत भागेका उनीलाई ६ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो । आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेकी छिन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६