कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा ३ जना घाइते भएका छन् ।
भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा ३ जना कामदार घाइते भएका हुन् ।
घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था सामान्य रहेको र १ जनाको अवस्था भने गम्भीर रहेको बताइएकाे छ ।
गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए ।
शनिबारदेखि नै टावर खोल्ने काम सुरु गरे पनि बुधबारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित हुँदा ढलेको नगर प्रमुख चौधरीले बताए ।
टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाई घाइतेको उद्धार गरिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६