काठमाडौं । औषधिको नियमन गर्ने नेतृत्वदायी संस्था औषधि व्यवस्था विभाग जहिल्यै पनि कार्यालय समयकै सुरुवाती चरणमा ३० मिनेट बैठक बस्ने गर्छ । सेवाग्राहीको सहजताका लागि राजधानी दैनिकको टिम एक साता विभाग धाएको थियो । सरकारी कार्यालय खोल्ने समय बिहान १० देखि बेलुका ५ बजेसम्म हो ।
तर, प्रायः १० देखि ११ बजे १ घन्टा सेवाग्राहीको काम हुँदैन । कारण त्यो समयमा महाशाखा प्रमुख महानिर्देशकको कार्यकक्षमा बैठक हुन्छ । महानिर्देशकको कार्यकक्ष बैठक भइरहेकाले एक घन्टापछि मात्र आउन सेवाग्राहीलाई त्यहाँ कार्यरत कर्मचारीले भन्ने गर्छन् । कहिलेकाही एक घन्टा ३० मिनेटभन्दा बढी बैठक लम्बिन्छ । बैठकमा विभागका महानिर्देशकदेखि महाशाखाका प्रमुखको सहभागिता हुन्छ ।
विभागमा कार्यरत एक कर्मचारीले भने, ‘सधैं सुरुमा मिटिङ बस्छ । मंगलबार भेटेनरी व्यवसायीहरू आउनुभएको थियो । हिजो बुधबार पनि छलफल नै थियो ।’ त्यस्तै, कार्यालय समयमा कर्मचारी भेटिँदैनन् । केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी कार्यालय समयमा आउनुपर्ने र सेवाग्राहीलाई सहज तरिकाले सेवाप्रवाहमा कुनै कन्जुस्याइँ गर्न नहुने प्रतिबद्धता जनाएका थिए ।
विभागमै भएको कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले कर्मचारीको कामको लेखाजोखा गरिने पनि बताएका थिए । विभागका महानिर्देशक नारायण ढकाल पनि बैठक बसेको स्विकार्छन् । उनले भने, ‘सेवाप्रवाहमा त समस्या परेको छैन । सेवाग्राहीलाई सहज तरिकाले सेवाप्रवाह गर्न तल्लीन छौं । कहिलेकाहीँ मिटिङ लम्बिन सक्छ ।’
विभागको केन्द्र कार्यालयमा हाल ४९ जना कर्मचारी छन् । विभागमा सेवाप्रवाहका लागि तारकेश्वरबाट आएका दिनेश थापाले भने, ‘औषधि दर्ता सन्दर्भमा आएको हुँ । तर, खोइ कर्मचारी ?’
सेवाग्राही अमिर अन्सारीले भने, ‘१० बजेदेखि कुरेर बसेको छु । कार्यकक्षमा कोही आउनुभएको छैन । ११ बजेर २० मिनेट भइसक्यो । कति बेला कर्मचारी आउँछन्, भन्न सकिन्न ।’ उनले यो समस्या अन्य दिन पनि बेहोर्दै आएको बताए ।
कार्यालय समयमा बैठक बस्नुले सेवाग्राही मर्कामा परेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सेवाग्राहीको चाप हुने समयमा बैठक बस्दा सेवाग्राही मर्कामा पर्ने गरेको बताए । उनले भने, ‘सेवाग्राहीको चाप हुने समयमा मिटिङ बस्नु राम्रो होइन । सेवाग्राहीलाई अल्झाउनु सुशासनविपरीत हो ।’ याे समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६