भारतको राजधानी नयाँ दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म १ प्रहरी अधिकृतसहित २० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २ सय ५० जना घाइते भएका छन् ।
अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरुमा प्रदर्शनकारी र प्रहरीहरु छन् ।
नयाँ दिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कर्फ्यु आदेश जारी गरिएको छ । मंगलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग कुरा गरेका छन् ।
दिल्ली उच्च अदालतको मंगलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ ।
प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको छ । यो भिडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य समेत थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।
गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिकता कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुबीच हिंसात्मक झडप सुरु भएको थियो । यो हिंसाले सोमबार र मंगलबार निकै डरलाग्दो रुप लिएको थियो ।
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।
नयाँ कानुन अनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।
सेना परिचालन गर्न केजरीवालकाे माग
यसैबीच, भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन सेना परिचालनको माग गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नै सेना परिचालन गर्न माग गरेका हुन् ।
उत्तरपूर्वी दिल्लीमा भइरहेको हिंसाबारे टिप्पणी गर्दै मुख्यमन्त्री केजरीवालले तत्काल सेना परिचालन गर्न माग गरेका हुन् । उनले स्थिति नियन्त्रण बाहिर गएको र प्रहरीबाट शान्ति सुव्यवस्था सम्भव नभएको जनाउँदै गृह मन्त्रालयलाई सेना परिचालनका लागि आग्रह गरेका हुन् ।
उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘म रातभर मानिसहरुसँग सम्पर्कमा रहेँ, स्थिति निकै चिन्ताजनक छ, प्रहरी आफ्नो प्रयासका बाबजुद स्थिति नियन्त्रणमा लिन र जनताको आत्मविश्वास बढाउन असमर्थ रहेको छ, सेनालाई तुरुन्त बोलाइयोस् र बाँकी प्रभावित क्षेत्रमा कर्फ्यु लगाइयोस् । यसका लागि म गृहमन्त्री अमित शाहलाई एउटा पत्र लेख्दैछु ।’
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६