इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले बेचबिखनमा परेका १६ महिलालाई पाँचमहिने सीपमूलक तालिम दिएको छ ।
माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ ।
सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको तालिम प्रदान गरी समापन कार्यक्रमसँगै बिदाइसमेत गरिएको माइती नेपालका कार्यक्रम संयोजक सुनिता कार्कीले बताइन् ।
माइती नेपालले अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको छ ।
६ महिनासम्म तालिम लिएर बिदाइ हुने सबै जनाले आत्मनिर्भर हुने गरी समाजमा पुनःस्थापना भएपछि काम गर्नु पर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने बताए ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले मानव बेचबिखनको सञ्जाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको भन्दै यसको न्यूनीकरणमा माइती नेपालले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६