काठमाडाैं । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उच्च पदस्थको निधन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनले उक्त दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख छ ।
‘पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको थियो । यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए, फलस्वरुप दुर्घटना भयो’ समितिले सम्भावित कारणको रुपमा उल्लेख गरेको छ ।
पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठिन समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा सदस्य रहेका थिए भने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए।
गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोगले दुर्घटनासम्बन्धी तथ्य संकलन, सम्बन्धित प्राविधिक एवं व्यवस्थापन पक्षका पदाधिकारीहरुसँग छलफलरअन्तर्वार्ता, दुर्घटनास्थलको स्थलगत अध्ययन भ्रमण गरेर प्रतिवेदन तयार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
त्यस्तै समितिका पदाधिकारीले मौसमी अवस्थाको मनोवैज्ञानिक अध्ययन, सामाजिक एवं मानवीय अवस्थाको मनोवैज्ञानिक अध्ययन, उडान कागजातहरु र म्यानुअल समेतको विस्तृत अध्ययन र तथ्यगत विश्लेषण गरेर अन्तिम प्रतिवेदन तयार पारेको जनाएको छ।
२०७५ फागुन १५ गते ताप्लेजुङको पाथिभरास्थित तारेढुंगा सिस्नेभिरमा एयर डाइनेस्टिको हेलिकोप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।
दुर्घटनामा एयर डाइनेस्टीका सिइओ तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको मृत्यु भएको थियो।
हेर्नुहाेस् प्रतिवेदनकाे पूर्णपाठः
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६