अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २ दिने भारत भ्रमणमा रहेका बेला भारतमा हिंसात्मक प्रदर्शन भएको छ ।
नागरिकता कानुनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सोमबार १ प्रहरीसहित ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिल्लीमा मंगलबार निर्णायक छलफल गर्दै छन् । सोमबार राति नै ट्रम्प अहमदाबाद, आग्रा हुँदै दिल्ली पुगेका थिए ।
ट्रम्प दिल्ली पुग्न अगाडि त्यहाँ महिनौंयता जारी नागरिकता कानुनको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । केही समय साम्य भएको प्रदर्शन आइतबारदेखि चर्किएको हो ।
सोमबार दिल्लीको यमुना पार इलाकामा प्रहरी हेड कन्स्टेबल रतन लालको प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर मृत्यु भएको बताइएको छ ।
प्रदर्शनकारीले सरकारविरुद्ध प्रदर्शन गर्दै ढुंगामुढा प्रहार गरेका थिए भने कारमा आगजनी गरेका थिए । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो ।
यस घटनासँगै दिल्ली सरकारले हिंसालाई नियन्त्रणमा लिन दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । त्यहाँका केही स्थानमा कर्फ्यु जारी भएको छ ।
भारत सरकारले नागरिकता सम्बन्धी नयाँ कानुन ल्याएपछि केही समययता भारतमा प्रदर्शन जारी छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६