हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँथेँ म पनि । स्कुलमा बिदा पनि हुने, पढ्ने झ्याउलो पनि नहुने, ट्रकमा बसेर हेडसरसँग टुँडिखेल र रंगशाला घुम्न जान पाइने, बरफ र खाजा खान पनि पाइने ! यति धेरै खुसी पाइने पुस १४ गते राजाको जन्मदिन मेरा लागि पनि उत्सवमय हुन्थ्यो ।
पञ्चायतकालीन राज्यले राजा वीरेन्द्रको जन्मदिनलाई शुभ र उत्सवमय बनाउने क्रममा तीन दिनसम्मको सार्वजनिक बिदा दिँदै, स्कुल प्रशासनमा उर्दी जारी गर्दै, गाडीको सुविधा दिँदै हजारौं विद्यार्थीलाई टुँडिखेल र रंगशालामा उतार्थ्यो । सडक र चौरमा लाइन लगाएर कलिला ओठबाट मौसुफ सरकारको जयजयकार गराई राजा, राजतन्त्र र पञ्चायती व्यवस्थाको चिरायु हुने महान् भ्रम पाल्दै बस्थ्यो ।
मौसुफ सरकारको शुभ–जन्मोत्सव मनाउँदै, राजा र व्यवस्थाकै प्रशंसामा लेखिएका ‘राष्ट्रगान’ गाउँदै, महेन्द्रमाला पढ्दै हुर्केको मैले जब राजा, राज्य व्यवस्था र देश एउटै होइनन् भन्ने थाहा पाएँ, तिनको आर्थिक भार आमजनताको टाउकामाथि थोपरिएको चेतना पाएँ, स्कुलेकालमै राजा र राजतन्त्रविरोधी (सरकारी भाषामा ‘अराष्ट्रिय तत्त्व’) बन्न पुगेँ । राजा, राज्य व्यवस्था र देशलाई एकाकार गर्ने खालका भाष्य (न्यारेटिभ्स) का आधारमा आमजनताको दोहन–शोषण जारी राखेकै कारण ‘वीरे चोर देश छोड्’ नारा पनि लगाउने भएँ ।
‘गणतान्त्रिक पञ्चायत’ र जन्मोत्सव
आज न तीन–तीन दिन जन्मोत्सव मनाउने राजा बाँचेका छन्, न ‘कू देता’ गरेर भए पनि राजतन्त्र बचाउन खोज्ने उनका भाइ नै सिंहासनमा छन्, न त उनीहरूका राजतन्त्र र राज्य व्यवस्था नै अस्तित्वमा छन् । तैपनि हामीले ल्याएको लोकतान्त्रिक गणतन्त्रमा ‘नयाँ राजाहरू’ भने शाहवंशीय राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाकै विद्रूप सांस्कृतिक अभ्यासको ‘क्यारिकेचर’ गर्दै छन्, व्यक्तिविशेषको जन्मदिनलाई राज्यका कामकारबाहीसँग नत्थी गर्दै ! प्रधानमन्त्री
खड्गप्रसाद शर्मा ओलीको जन्मदिनलाई जन्मोत्सव बनाउने र ओलीको जयजयकार गर्ने सांस्कृतिक उद्यममा पुराना मौसुफहरूको शुभ–जन्मोत्सव मनाउने राजसी दुर्गन्ध व्याप्त देखिन्छ ।
चाहे शुभ–जन्मोत्सव आयोजना गर्ने होस् या विवाहको स्वर्णजयन्ती मनाउने, मार्क्सवादीबाट मार्सीवादी भएका नयाँ राजा, तिनका आसेपासेलाई मार्क्सको भनाइ पक्कै हेक्का हुनुपर्छ । ‘दी एट्टिन्थ ब्रुमेर अफ लुई बोनापार्ट’ मा मार्क्सले फ्रान्सको गणतान्त्रिक क्रान्तिका सेनापतिबाट सम्राट् बनेका नेपोलियन बोनापार्टको नक्कल गर्ने चार्ल्स–लुई बोनापार्टको पश्चगामी अभ्यासलाई राजनीतिक मजाकका रूपमा उडाएका थिए, ‘इतिहासले स्वयंलाई दोहोर्याउँछ ः पहिलो पटक त्रासदीका रूपमा, दोस्रो पटक प्रहसनका रूपमा ।’ व्यक्तिविशेषको जन्मदिन सम्झने निहुँमा पार्टीका प्रथम अध्यक्ष, देशका प्रधानमन्त्रीको पद, उनको नेतृत्वमा चल्ने सरकार र सिंगो राज्य व्यवस्थालाई एउटै गाँठोमा बाँधेपछि लोकतान्त्रिक गणतन्त्र नै ‘गणतान्त्रिक पञ्चायत’ बन्न पुगेको छ र निरंकुश सर्वसत्तावादले लाखेनाच नाच्न थालेको छ ।
हुन त प्रधानमन्त्री ओली आफ्नो जन्मोत्सव मात्रै होइन, धर्मभीरु नै हुन् भने मरणोत्सव मनाउन पनि स्वतन्त्र छन् एक व्यक्तिका रूपमा, तर उनी कम्युनिस्ट र गणतन्त्रवादी नभए पनि आम व्यक्ति होइनन् । उनी प्रधानमन्त्री पनि भएकाले यस्ता उत्सवमा देखिने राजसी चरित्रमाथि भने गम्भीर प्रश्न उठ्छ नै । कुनै गैरकम्युनिस्ट र गैरगणतन्त्रवादी व्यक्तिलाई आफ्नो जन्मदिनलाई शुभ–जन्मोत्सव बनाउने जोस र रुचि भए महाराजा शैलीमा सबै देशवासीलाई भोजभतेर खुवाए पनि कसैको आपत्ति हुँदैन । जन्मोत्सवलाई राजसी ठाँटबाँटसाथ महोत्सव नै बनाउने जाँगर, ज्यान र पैसा भए चन्द्रमामा यात्रा गर्दै ‘बर्थ डे केक’ काटे पनि कसैको गुनासो हुँदैन ।
प्रशंसक र चाटुकारबाट सयौं किलोको मालाले पुरिए पनि, युट्युब भिडियोको स्तुति र ‘ह्याप्पी बर्थ डे’ गीत सुनेर मखलेल भए पनि कसैबाट आलोचना हुँदैन । तर, जब देशका प्रधानमन्त्रीले राज्यका स्रोत–साधन, कर्मचारी प्रशासन, निर्वाचित संस्था, जनप्रतिनिधि र विद्यार्थीलाई प्रयोग गर्दै आफ्नो जयजयकार गर्न लगाउँछन्, तब पद, पैसा र तन्त्रको दुुरुपयोग गरेकामा विरोध हुन थाल्छ नै । खड्गप्रसाद शर्मा ओलीले पाएको प्रधानमन्त्री पद, खर्च गरेको जनताको पैसा, राजस्व, घोडाजस्तै चढेको गणतन्त्र व्यक्तिविशेषको बिर्ता र अपुताली रकम नभएकै कारण तीव्र आक्रोश पोखिएको हो ।
शक्ति, स्रोत र साधनको दुरुपयोग
जब ओलीले जन्मदिन जस्तो नितान्त व्यक्तिगत कार्यव्यापारलाई प्रधानमन्त्री पद र हैसियतसँग नत्थी गर्छन्, आफ्नो राजसी जन्मोत्सव मनाउन गाउँपालिकामा सार्वजनिक बिदा दिन लगाउँछन्, गाउँपालिकाकै पहलमा आठराईस्थित आफ्नो निवासनेर हेलिप्याड बनाउन लगाउँछन्, चारचार वटा हेलिकप्टरबाट जन्मघर यात्रामा संघीय र प्रादेशिक मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री र नेताहरूलाई सारथि बनाउँछन्, गाउँमा सरकारी, गैरसरकारी र पार्टीका चाकडीवाल अधिकारीहरूका गाडीको ताँती लगाउँछन्, पद, शक्ति र राज्यकोषको चरम दुरुपयोगको मात्रै होइन, भ्रष्ट आचरण र अलोकतान्त्रिक व्यवहारबारे प्रश्न उठ्छ नै ।
जन्मघरमा गरिएको राजसी जन्मोत्सव समारोहलाई छोपछाप गर्न ओलीले सडक शिलान्यासदेखि खानेपानी आयोजना वा बैंक शाखाको उद्घाटनजस्ता सामान्य सरकारी औपचारिक कामलाई निहुँ बनाए पनि उनका भ्रष्ट आचरण र अलोकतान्त्रिक व्यवहार नराम्ररी उजागर भएका छन्, जसले गर्दा सामाजिक सञ्जालमा उनको जन्मोत्सवसमेत गाली, आलोचना र विरोधको दिवसमा फेरिएको छ ।
झापाबाट तेह्रथुम लगिएको क्याटरिङमा ५–६ हजार मानिसलाई भोज खुवाउनु सरकारको सदाचार नीति र पार्टीको आचारसंहितालाई मेचीमा बगाउने ओली शैली होला । उद्घाटनको बहानामा पार्टीका प्रथम अध्यक्ष र देशका प्रधानमन्त्रीको ‘शुभ–जन्मोत्सव’ मनाउन दुई–तीन महिनादेखि खटिने स्थानीय नेता–कार्यकर्तामा सदाचार नीति र आचारसंहिताबारे, भोजभतेरको आर्थिक स्रोतबारे, माथिको आदेश–निर्देश आँखा चिम्लेर पालना गर्ने दासत्वबारे सन्देहसमेत नउठ्नु ओली शैलीकै व्यापकता होला । यस्तो ओली शैलीभन्दा कम दुःखद छैन, खाना–नाना, कापी–कलम र ‘विकास’ का लागि प्रधानमन्त्रीसामु हात थाप्नुपर्ने विवशताबीच आम जनतालाई आसेहरूको निरीह भीड बनाउने काम र प्रवृत्ति । चाहे खाना होस् या विकास, दान गर्ने त दानी र दयालु नै कहलिन्छन् ।
दान प्राप्त गर्नेहरूको दयनीय मनस्थिति र निरीह परिस्थितिले नै कसैलाई दयालु र दानी बन्ने मौका दिइरहने हो । दयनीय मनस्थिति र निरीह परिस्थितिबीच नै सुख, समृद्धि र समाजवादको बाँसुरी बजाएर जनतालाई भीडका रूपमा एकोहोर्याउने र यति समूहजस्ता आसेपासे साहूलाई पोस्ने ओलीजस्ता शासक जन्मिने हुन् ।
अरूको दीनतामा रमाउने ‘सर्वसत्तावादी चरित्र’
शासकहरूको मनोविश्लेषण गर्न सक्ने कोही भए ओलीको मनस्थितिको चिरफार गरे गज्जबको तथ्य निस्कन सक्छ । ट्र्याक्टरमा चढेर, घण्टौं हिँडेर आएका लगभग २ हजार विद्यार्थीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा र आफ्नै चहकिलो अनुहारअंकित डायरी र कलम बाँड्न पाउँदा ओलीलाई सुखानुभूति भएको हुनसक्छ । आफ्नो आयुजत्तिकै ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्लेक्स र ६९ वटा कलश बोकेर आफ्नो स्वागतमा लहरै उभिएका बालबालिका देखेर, उनीहरूले जयजयकार गरेको सुनेर उनमा राजसी आनन्द आएको पनि हुन सक्छ ।
यसरी प्रधानमन्त्री ओलीमा पनि अरूका आज्ञाकारिता, आत्मसमर्पण र निरीहता–शक्तिहीनतामा रमाउने प्रवृत्ति बढेको हो भने हेक्का रहोस्, यस्तो प्रवृत्तिलाई जर्मन मनोविश्लेषक एरिक फ्रम ‘सर्वसत्तावादी चरित्र’ (अथोरिटेरियन क्यारेक्टर) भन्ने गर्छन् । सर्वसत्तावादी चरित्र भएका शासकले बाँड्ने सुख, समृद्धि र विकासको मात्रै होइन, समाजवादको पनि आधारभूत चरित्र जनमुखी र लोकतान्त्रिक हुँदैन, बरु त्यो सुख, समृद्धि र समाजवादको नारामा आसेपासेलाई पोस्ने खालको पुँजीवाद (क्रोनी क्यापिटलिजम) कै पुनरावृत्ति हुन्छ ।
‘गणतान्त्रिक पञ्चायत’ का नयाँ राजाको शुभ–जन्मोत्सवमा पनि क्रोनी क्यापिटलिजमको नग्न प्रहसन देखिएको छ, जबकि धेरैजसोको ध्यान भने नेपालको नक्साअंकित केकको कटाइ र खवाइको नौटंकीमा केन्द्रित भएको छ । आफूलाई पोस्दै आएका प्रधानमन्त्रीलाई बधाई दिन यति समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा अलग्गै हेलिकप्टरमा भव्य केक लिएर चाकडी गर्न गएका थिए । उनीहरूले उपहार दिएको १५ किलोको केक मज्जासँग खाने–खुवाउने कामलाई वास्तवमा शासक र साहूले अर्कोलाई पोस्ने–पोसाउने खेलको अनुपम नमुना मान्न सकिन्छ ।
राष्ट्रवादी नाराले देश र जनता मोहित भएका बेला संघीय अधिकारका लागि संघर्षरत जनतालाई होच्याउँदै महान् राष्ट्रवादी नेता ओलीले भनेका थिए, ‘देश कसैको जन्मदिनको केक होइन, टुक्रा–टुक्रा पारेर बाँड्न ।’ जब ओली र ओलीको जयजयकार गर्ने भीडले जसरी केकमा अंकित ‘नेपाल’ लाई काटेर आनन्दसँग खाए, ओलीजस्ता शासक र यतिका साहूहरूले यस देशका स्रोतसाधन र सम्पत्तिलाई बर्थ डे केकजस्तै काट्दै खाँदै आएको तथ्य गोकुल बाँस्कोटा प्रकरणबाट थप जाहेर भएको छ । तर, नेपालको नक्साअंकित केक खाँदा देशै काटेर खाएको भन्दै भावनामा बगेर उत्तेजित र आक्रोशित भएर कोकोहोलो मच्चाउनुको सट्टा शासक र साहूको अवैध सम्बन्ध र ओलीका शब्दमा ‘लुटिङ फेसिलिटी’ माथि जब्बर प्रश्न गर्नु जरुरी छ ।
झन्डाले बाँधिएको राष्ट्रवाद
नेपालको नक्साअंकित केक काटेर खाएको दृश्य देखेर आक्रोशित भएको नेपाली राष्ट्रवाद (टेरिटोरियल नेसनालिजम) का आँखा खासमा राष्ट्रिय झन्डाको पट्टीले अझै बाँधिएका छन् । यसैले यस्ता राष्ट्रवादीले देशभित्रको उत्पीडन, शोषण र दोहनलाई हेर्दैनन्, देश, राष्ट्र, संविधानका नाममा स्वदेशीहरू मारिँदा पनि देख्दैनन् । राष्ट्रिय झन्डाले छोपेर शासक वर्गका आसेपासे साहूहरूका लागि मात्रै सुख, समृद्धि र समाजवाद सुनिश्चित गरिँदा पनि कोही आन्दोलित हुँदैनन् ।
जन्मोत्सवका नाममा भएको राजनीतिक नौटंकीले राष्ट्रवादीहरूसामु हामीले नै निर्वाचित गरेका प्रधानमन्त्रीको छुच्चो बोली, थोत्रा उखान–टुक्का, हवाइ सपनासँगै तुहिएका वाचा–वचन र खेर गएका दुई वर्षको कालखण्डलाई उजागर गरेको छ । अब राष्ट्रिय झन्डाले बाँधिएका आँखा खोलेर हेर्न सकिएमा प्रस्टै देखिनेछ— सुख, समृद्धि र समाजवादको नाराको बलमा प्रधानमन्त्री भएका एक पार्टीका नेता कसरी सर्वसत्तावादी हुँदै छन् ? लोकतान्त्रिक गणतन्त्रलाई गणतान्त्रिक पञ्चायतमा फेर्ने सर्वसत्तावादविरुद्ध राजनीतिक–सांस्कृतिक प्रतिरोध गरिएन भने शाही झूतले शासन सुदृढ गर्नेछ । याे लेख आजकाे कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६