दैलेख । जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ ।
नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताए । दैलेख जिल्ला कारागारमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका छन् ।
कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा मानसिक समस्या परेको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो ।
डा दत्तका अनुसार कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे तीन दिनसम्म चिकित्सकद्वारा कैदीबन्दीको अध्ययन गरिएको थियो ।
उनले बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीबन्दीमा मानसिक समस्या देखिएको बताए ।
कैद भुक्तान भइसकेपछि श्रीमान्सँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरका कारण ती महिलामा यस्तो समस्या देखिएको हो , दत्तले भने ।
त्यसैगरी लागुऔषध ओसारपसार तथा दुव्र्यसनी मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीमा आत्तिने समस्या देखिएकाले बिरामीलाई औषधि सेवन गर्न सुझाव दिइएको छ ।
मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधोपचार गरिएको दैलेख अस्पतालका डा निरञ्जन पन्तले जानकारी दिए ।
अब नियमितरूपमा परीक्षण गरिनेछ , पन्तले भने । कैद भुक्तानपछि पनि समाजमा जाँदा गाउँ समाजबाट एक्लिने डर र चिन्ताले गर्दा बहुविवाह गरेका महिलामा मानसिक समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।
८० पुरुष र २० महिला गरी सय जनाको क्षमता रहेको जिल्ला कारागारमा कैदीबन्दी र थुनुवा गरी १ सय ४२ जना छन् । २ नाबालक पनि आमाबाबुसँगै जेलजीवन बिताउन बाध्य छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६