साेलुखुम्बू । उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ ।
पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित ३ सदस्यीय टोलीले ११ फागुन हेलिकोप्टरमार्फत् टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए ।
छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर वरुण ज्ञवाली, प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्मासहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको हो।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख अधिकारीका अनुसार काठमाडौंबाट हवाई जहाजमार्फत् लुक्ला आएको टोलीले घटनास्थल पुग्न कैलाश एअरकै हेलिकोप्टर प्रयोग गरेको थियो ।
घना जंल भएकाले हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएकाले आकाशबाटै जस्तापाता झरेको स्थानको अवलोकन गरेको टोली पुनः लुक्ला फर्केर बसेको छ । टोली साेमबार काठमाडौं फर्केर केही दिनमा प्रतिवेदन बुझाउने नेपाल नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
घटनाको विषयमा आफूहरू गम्भीर भएको भन्दै उनले प्रतिवेदनका आधारमा प्राधिकरणले थप निर्णय गर्ने बताए । बारम्बार यस्ता घटना घट्नुले हवाई उडानको समयमा असुरक्षित महसुस भएको स्थानीयको भनाइ छ ।
१० फागुनमा सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दुबाट खुम्बुू पासाङ ल्हामु गाउँपालिका–४, दिङ्बोचेका लागि डोरीमा झुण्ड्याएर निर्माणका सामग्री लाँदै गर्दा केही मिनेटपछि लुङ्दीङ जङ्गलमा झरेको थियो ।
यस विषयमा कैलाश एअर प्रालिका अपरेसन म्यानेजर प्रतापजङ्ग पाण्डेले कमजोरीको बचाउ गर्न खोज्दै आफूलाई केही पनि जानकारी नभएको जवाफ दिए । उनले नेपाल बाहिर रहेको भन्दै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराउने भने पनि अन्तिममा फोनसमेत ‘रिसिभ’ गरेनन् ।
किन झर्छ बारम्बार सामग्री ?
कैलाश एअरको हेलिकोप्टरले सामान झार्दै उडेको यो पहिलो घटना होइन। यसअघि १९ भदौमा पनि सोही एअरको हेलिकोप्टरबाट सोलुदूधकुण्ड नगरपालिका–२, फेरामा सिरकको पोकोसहितको सामग्री झरेको थियो। यस विषयमा नियमनकारी निकाय मौन बस्यो ।
विभिन्न सञ्चारमाध्यममा नियमविपरीत हेलिकोप्टर कम्पनीको उडान शीर्षकमा समाचार प्रकाशन/प्रसारण भएको भए पनि निमयनकारी निकायले कुनै कदम चालेन ।
स्थानीय प्रशासनको समन्वयमा सुरक्षा ग्यारेन्टी गरी उडान भर्नुपर्ने हेलिकोप्टरले हाल सोलुदूधकुण्ड नगरपालिका-१, टाक्सिन्दुको एकान्त ठाउँबाट सेवा प्रवाह गरिरहेको छ।
यहाँ न त नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै पुग्छन् न त प्रहरी प्रशासन नै, त्यसैले के कति कसरी काम भइरहेको छ भन्नेबारेमा यहाँका प्रशासनलाई थाहा हुने कुरा पनि भएन ।
टाक्सिन्दु पुगेका सोलुखुम्बूका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बुले अव्यवस्थित ढङ्गबाट मालसामान ढुवानी भएको पाइएको बताए ।
उनका अनुसार कार्गो ढुवानीमा प्रयोग गरिने जाली च्यातिएपछि सामग्री खसेको हो । घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै उनले तत्कालका लागि टाक्सिन्दुको प्रहरीले अनिवार्यरूपमा निगरानी राख्ने बताए ।
प्रहरीले जाँच नगरी कार्गो ढुवानी गर्न नपाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
“छानबिन समितिको प्रतिवेदन केही दिनमा आउला, त्यो कस्तो आउँछ हेर्न बाँकी छ”, प्रहरी प्रमुख लिम्बुले भने, “नागरिक उड्डयनको पाटोबाट गर्ने एउटा होला हाम्रो तर्फबाट तत्काल सुरक्षा समितिको बैठक बसेर निर्णय गर्छौं।”
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६