काठमाडाैं । सरकारी कागजात कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाजुराका २८ वर्षीय रमेश बहादुर कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल, २६ वर्षीय जनक कटुवाल र ४० वर्षीय शिरबाबु महर्जन छन् ।
रमेश, प्रकाश र जनकलाई सरकारी कागजपत्रहरु किर्ते गरेको आराेपमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरुले प्रयोग गरेको नक्कली कागजपत्र बनाउने छापाखाना सम्बन्धी कुराहरु खुल्न आएपछि ललितपुर महानगरपालिका–१९ लगनखेलस्थित एलपी छापाखानाबाट नक्कली छापहरु बनाउन प्रयोग हुने कम्प्युटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प सहित शिरबाबुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुउपर सरकारी छाप किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६