अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २ दिने भ्रमणका लागि सोमबार भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उनलाई स्वागत गरेका हुन् ।
राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् ।
अब ट्रम्प परिवारले महात्मा गान्धीको सबरमती आश्रमको अवलोकन गर्ने छन् । उनले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्ने बिबिसी हिन्दीले बताएको छ।
यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ । साथै, आगरास्थित ताजमहलमा पनि घुम्ने तालिकामा रहेको भारतीय सञ्चारले जनाएको छ ।
ट्रम्पकी पत्नी मेलिनिया ट्रम्पले दिल्लीका सरकारी विद्यालयमा पनि भ्रमण गर्ने जनाइएको छ ।
ट्रम्प दम्पत्ति भ्रमणमा आउने भएपछि भारतका ३ सहरमा ३ तहको सुरक्षा कायम गरिएको छ । उनीहरू दिल्लीको आइटिसी मौर्या होटलमा बस्ने छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६