काठमाडौं । एनसिसिएस–सिप्यान क्रिकेट अवार्डको दोस्रो संस्करण चैतमा आयोजना हुने भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै चैत २१ गते अवार्ड आयोजना गरिने जानकारी दिएको छ ।
सिप्यानले हरेक वर्ष प्रदान गर्ने वर्ष क्रिकेटर अवार्डका विजेताले यसपटक महिला र पुरुष दुवै स्पर्धामा जनही १ लाख ३२ हजार रुपैयाँ नगद पाउने भएका छन् ।
सिप्यानले विभिन्न ५ स्पर्धामा पुरस्कार दिइने जनाएको छ । उदयीमान वर्ष क्रिकेटर, लाइफ टाइम अचिभेमेन्ट अवार्ड र वर्ष उत्कृष्ट क्षणमा पनि अवार्ड दिइने छ । ३ वटै स्पर्धाका विजेताले जनही ६६ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
अघिल्लो संस्करणको उत्कृष्ट वर्ष खेलाडी सन्दीप लामिछाने र सीता रानामगर भएका थिए भने उत्कृष्ट युवा खेलाडी रोहितकुमार पौडेल, उत्कृष्ट क्षण अवार्ड करण केसीले जितेका थिए । यस्तै, पुराना क्रिकेटर कोमल पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६