काठमाडाैं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँगकाे कमिसन डिल गरेकाे अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता भएको छ।
संसदको सार्वजनिक लेखा समितिले कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दिएको हो।
मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए ।
समितिका सदस्यहरु रहेका नेकपा र कांग्रेसका सांसदहरुले अडियो प्रकरणमा आफूहरुलाई बिनाकाममा मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्युरोमा उजुरी दर्ता गराइएको हो ।
समितिका सचिव डा. रोजनाथ पाण्डेले मिश्रविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको जानकारी दिए । समितिको बैठकले बिहीबारै मिश्र र प्रकाश उपाध्यायमाथि कारवाहीका लागि साइबर ब्युरोलाई पत्र लेख्ने निर्णय गरेको थियो । पाण्डेले प्रहरी मुख्यालयमा आइतबार छुट्टै उजुरी दर्ता गरिएको जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६