काठमाडौं । काेरियास्थित नेपाली दूतावासले कोरोना भाइरसको संक्रमणबाट बच्न दक्षिण कोरियामा बसाेबास गर्ने नेपालीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
दक्षिण कोरियामा कोरोना संक्रमण दर केही दिनदेखि बढिरहेका बेला सियोलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर नेपालीहरूलाई विशेष सतर्क र सजग रहन अपिल गरेको हो ।
विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । चीनको हुवे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा शनिबारसम्ममा ४ सय बढी मानिस संक्रमित बनेकाे सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझै बढी सजग र सचेत हुन जरुरी छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।
दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीहरूलाई सुझाव दिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६