काठमाडाैं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीकाे भिड लागेकाे छ । मन्दिर क्षेत्रमा फूलले गरिएकाे सजावट यसपटककाे विशेष आकर्षण बनेको छ ।
यस वर्ष विभिन्न थरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यस वर्ष शिवरात्रिमा १० लाखभन्दा बढी धार्मिक पर्यटक पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । आज रातभर दर्शनार्थीका लागि पशुपतिका चारै ढोका खुला हुने छ ।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपति क्षेत्रमा यस वर्ष भक्तजन प्रवेशमा गरिएको व्यस्थाको निरीक्षण गरे ।
कोषले यस वर्ष भ्रमण वर्षसँग जोडेर महाशिवरात्रि पर्व मनाउने निर्णय गरेको थियो । पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका ४ ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने ५ वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको छ ।
मन्दिर क्षेत्र प्रवेशका लागि मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै ४ शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट १-१ लाम गरी बाहिरीरुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए ।
यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६