कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै उद्वार गरेर युक्रेन लगिएका युक्रेनीहरू चढेको गाडीमा आक्रमण भएको छ । उद्वार गरिएका मानिसहरूलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारेन्टाइनमा राख्न लगिँदै गर्दा आक्रमण भएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न अपिल गरेका छन् ।
युक्रेनका सुरक्षा अधिकारीहरूका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्धार गरिएका केही मानिसमा कोरोना भाइरसको सङ्क्रमण भएको झुठो दाबी गरिएको थियो । जसका कारण पनि अवस्था तनावपूर्ण बन्न पुगेको हो ।
युक्रेनको सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको जनाएका छन् । चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा लगिएको थियो ।
उनीहरूलाई ६ वटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा अवरोध गर्दै आक्रमण गरेका हुन् । त्यहाँका स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको प्रष्ट पारेका छन् ।
तनाव बढेपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले घटना भएको नगरको भ्रमण गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६