काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको आयोजनामा भएको छैठौं एपीएफ कप प्रतियोगिताअन्तर्गत बिहीबार फाइनल खेल सम्पन्न भएको छ ।
बुधबार स्कुलको खेल मैदानमा भएको ग्रिन भिलेज एजुकेसन फाउन्डेसन कीर्तिपुर र नेपाल पुलिस स्कुल साँगाबीच भएको प्रतिस्पर्धामा नेपाल पुलिस स्कुलले ग्रिन भिलेजलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो ।
एपीएफ स्कुलका व्यवस्थापन समिति अध्यक्ष एवं मानवस्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले रेफ्री तथा विजेता खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफी वितरण गरेका थिए ।
त्यसैगरी एनआइसी एसिया बैंकका सहायक कार्यकारी निर्देशक सुधीरनाथ पाण्डेले प्रतियोगितामा उपविजेता हुन सफल ग्रिन भिलेजका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरे । अखिल नेपाल महिला महिला फुटबल समितिकी अध्यक्ष पेमा लामाले सहभागी टिमहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिन् ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहले तेस्रो स्थान हासिल गर्ने ल्याब्रोटरी माविका खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरे ।
खेलमा उत्कृष्ट गोलरक्षक नेपाल पुलिस स्कुलका इशान श्रेष्ठ घोषित भए । सोही स्कुलका सन्देश तामाङ सर्वाधिक गोलकर्ता र सोदिन अवाल उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । त्यस्तै साल्भिनिया एकेडेमी, कीर्तिपुर अनुशासित खेलाडी समूह बन्न सफल भएको थियो ।
उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय फुटबल प्रशिक्षकद्वय सावित्रा भण्डारी र अनिता बस्नेतले संयुक्त रुपमा ट्रफी तथा प्रमाणपत्र वितरण गरेको नेपाल एपीएफ स्कुलका खेलकुद संयोजकले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६