काठमाडाैं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएपछि नेकपाका २ अध्यक्षले यसबारेमा छलफल गरेका छन् ।
सञ्चारमन्त्री बाँस्कोटाको कमिसन लेनदेनको अडियो सार्वजनिक भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका हुन् ।
२ अध्यक्षबीच भएको छलफलमा बाँस्कोटासँग जानकारी लिएर मात्रै आवश्यक निर्णय लिने भएका छन् । ‘अडियो टेपका बारेमा मन्त्रीज्यूसँग सोधपुछ र जानकारी लिने र उनको कुरा सुनेपछि मात्रै आवश्यक निर्णय लिइने छ’, बालुवाटार स्राेतले बतायाे ।
बालुवाटार जानुअघि प्रचण्डले पूर्वमाओवादी समूहका नेताहरुसँग छलफल गरेका थिए । गृहमन्त्री रामबहादुर थापा र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ बिहीबार बिहान यसै विषयमा कुरा गर्न प्रचण्ड निवास पुगेका थिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेससँग सम्बन्धित विषयमा एक स्विस कम्पनीका एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।
मन्त्री बाँस्काेटाकाे राजीनामा माग
यसैबीच कमिसनकाे कुरा गरेकाे अडियाे क्लिप सार्वजनिक भएसँगै सञ्चारमन्त्री बास्काेटाले पदबाट राजीनामा दिनुपर्ने भन्दै चाैतर्फीरुपमा माग उठेकाे छ ।
यसै क्रममा नेपाली कांग्रेसले पनि प्रेस विज्ञप्ति निकाल्दै सञ्चारमन्त्री बास्काेटालाई पदबाट बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकाे छ ।
सञ्चारमन्त्रीले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो `हाम्रा कुरा´ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काङ्ग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ , विज्ञप्तिमा भनिएकाे छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पनि बाँस्कोटालाई हटाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । थापाले बिहीबार ट्वीट गर्दै बास्काेटालाई हटाउनुपर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानबिन गर्नुहोस्,’ थापाले भनेका छन् ।
यस्तै साझा पार्टीले पनि मन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानबिन गर्न माग गरेको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बिहीबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सञ्चार मन्त्री बास्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित निजी निवासमा बस्दै आएका मन्त्री बाँस्कोटालाई तुरून्तै बर्खास्त गरेर निष्पक्ष छानबिन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ , विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं आएर जवाफ दिन्छु : बाँस्काेटा
कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसबारे काठमाडौंमा आएर बोल्ने बताएका छन् । सूदुरपश्चिमकाे कञ्चनपुरमा रहेका बाँस्काेटा काठमाडौं फर्किएलगत्तै धारणा राख्ने जनाएका हुन् ।
‘मेरोबारेमा चर्चा चलेको छ । तर अहिले यसबारे विस्तृतमा भन्दिनँ । काठमाडौं पुगेर आफ्नो धारणा राख्छु,’ उनले भनेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६