बैतडी । पाटन नगरकी उनलाई आफ्नो उमेर यकिन छैन । जन्मघर भारत रहेको थाहा भए पनि ठाउँबारे जानकारी छैन । पाँच वर्षकी छँदा उनलाई बैतडीको पाटनका भण्डारी थरका व्यक्तिले दशरथचन्द नगरपालिका–२ को निंगलाशैनी मन्दिरमा ‘देवी’ चढाउन भनेर ल्याएका हुन् । पूजाआजा भएका दिन मन्दिरमै बस्नुपर्थ्यो ।
अघिपछि देवी चढाउनेले त्यही किनारमा बनाइदिएको सानो छाप्रोमा बस्थिन् । त्यही छाप्रोमा उनले वर्षौं बिताइन् । अहिले गाउँमा मागेर गुजारा चलाइरहेकी छन् । ‘गाउँलेकै भरमा छाक टरिरहेको छ,’ उनले भनिन् ।
उनलाई आमाबाबुको सम्झना छैन, बिहे पनि भएको छैन, तर दुई छोरा र तीन छोरी गरी पाँच सन्तान छन् । जेठो छोरा र दुई छोरीको विवाह भइसक्यो । कान्छो छोरा रोजगारीका लागि भारतमा छन् । कान्छी छोरी उनीसँगै छिन् ।
‘देउता’ सँग विवाह भएको भनेर सिन्दूर लगाउने उनी छोराछोरी कसका हुन् भन्न सक्दिनन् । देउकी बसेकालाई जसले पनि यौनजन्य हिंसा गर्ने भएकाले छोराछोरी कसका हुन् थाहा नभएको उनले बताइन् । ‘मन्दिरमा चढाएकाले यस्तै गर्नुपर्छ भन्ने गरिएको थियो,’ उनले भनिन्, ‘मसँग दैनिक २/३ जना पुरुष मान्छे आउँथे, भाग्य यस्तै हो भनेर सहेर बसेँ, छोराछोरी जन्मिए ।’
जान्ने–बुझ्ने भएपछि छोराछोरीले ‘बुवा खै’ भनेर सोधेको सम्झँदै उनले भनिन्, ‘तम्रा बुवा भगवान् हुन्, मरिसके भनेर भन्छु । छोराछोरीले सोधेको प्रश्नको उत्तर मसँग छैन ।’
यो उमेरसम्म आइपुग्दा पाएका हन्डरबारे बताउँदा उनी भक्कानिन्छिन् । ‘राम्ररी खानलाउन पाइनँ, चप्पल धरी लगाउन पाइएन,’ उनले भनिन्, ‘अरूको इच्छा पूरा गर्दागर्दै आफ्नो जीवन भताभुंग भयो ।’
आफूलाई मन्दिरमा चढाउनेले छोरीलाई पनि चढाउँछौं भनेको उनलाई सम्झना छ । अब जमाना फेरिइसकेकाले छोराछोरीको बिहे गरिदिएको उनले बताइन् । पैसाकै अभावमा उनले सबै छोराछोरीलाई पढाउन सकिनन् । पढेकाले पनि १० कक्षा पास नगर्दै पढाइ छाडे । ‘कान्छी छोरी ६ कक्षामा पढिरहेकी छ,’ उनले भनिन्, ‘उसलाई पनि कापीकलम किन्ने पैसा हुँदैन । भारतमा मजदुरी गरिरहेका छोराहरूको कमाइ उनीहरूलाई नै ठिक्क हुने गरेको उनले बताइन् ।
दशरथचन्द नगरपालिकामै बस्दै आएकी अर्की एक महिलाको अवस्था पनि उनको जस्तै छ । उनलाई पनि स्थानीयले सानै उमेरमा त्रिपुरासुन्दरी मन्दिरमा चढाएका हुन् । उनका तीन छोरा र एक छोरी छन् । तर छोराछोरीका पिता को हुन् भन्ने थाहा छैन । ‘छोराछोरीले बुवाका बारेमा सोध्दा सबैभन्दा धेरै पीडा हुन्छ,’ उनले भनिन्, ‘तिनको नागरिकता लिने बेला समस्या भएको थियो । गाउँलेको प्रयासले बल्लबल्ल पाएँ ।’
आफूहरूले जिम्मा बसेर देउकीबाट जन्मेका छोराछोरीलाई नागरिकता सिफारिस गरेको पाटन नगरपालिका–९ का वडाध्यक्ष लोकबहादुर भण्डारीले बताए । ‘कतिपय देउकीका परिवारले अझै नागरिकता पाउन सकेका छैनन्,’ उनले भने । उनीहरूको अवस्था दयनीय रहेको र केही सहाराविहीन भएको उनले बताए ।
सुदूर पश्चिमका कतिपय जिल्लामा छोरीलाई देउकी भनेर चढाउने चलन २०४२ सालमा कानुन बनेयता हटिसकेको छ । पूर्व सांसद पुरन दयालका अनुसार त्यसबेला जिल्लाका मन्दिरहरूमा करिब हजारजना देउकी थिए । ‘२०४८ सालमा बालबालिका सम्बन्धी कानुन आयो र त्यसमा तोकेरै बालबालिकालाई मन्दिरमा चढाउन नपाइने भनिएपछि यो कुप्रथा हट्यो,’ उनले भने । कानुनी कारबाहीको डर र शिक्षाको विकाससँगै उक्त कुप्रथा हटे पनि धेरै वर्षअघि मन्दिरमा छाडिएका महिलाहरूलाई समाजमा पुनःस्थापनाको उचित प्रबन्ध नहुँदा धेरैको अवस्था नाजुक रहेको उनले बताए । कतिपयका सन्तानले जन्मदर्ता र नागरिकता नबन्दा चुपचाप गाउँछाडेर भारत पसेका छन् । अहिले पनि जिल्लाका करीब आधा दर्जन मन्दिरमा देउकी बनाइएका महिला छन् । मन्दिरपिच्छे सात/आठ जनाको संख्यामा रहेका उनीहरूले समाजमा पुनर्स्थापित हुन पाएका छैनन् । याे समाचार आजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६