काठमाडौँ । यही फागुन ९ गते शुक्रबार परेकाे महाशिवरात्रि पर्वमा भक्तजनलाई निम्ताे दिन महाशिवरात्रीको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ । पर्यटन वर्ष पनि परेकाले शिवरात्रिलाई पर्यटकीय महाेत्सव बनाउने उद्देश्यले वृहत् शाेभायात्रा गरिएकाे हाे ।
महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु भएको शोभायात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो ।
यात्रामा साधुसन्त, महन्त, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यान्ड टोलीको पनि सहभागिता थियो । कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी, महाशिवरात्री मूल समारोह समिति, महाशिवरात्रिकाे मिडिया अनुगमनकर्ता संस्था लिस्नर्स क्लब लगायत विभिन्न संघसंस्थाकाे सहभागिता थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६