काठमाडौं । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन,’ मौसमविद् अर्यालले भने ।
मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने मौसमविद्को भनाइ छ । मौसमविद् अर्यालका अनुसार बुधवारबाट नयाँ मौसमी प्रणाली विकास भई आकाश खुला हुने सम्भावना छ ।
वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान पनि प्रभावित हुनसक्ने खतरा बढेको जनाइएको छ । मौसमविद्का अनुसार वायुमण्डलको पारदर्शिता ३ हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न सकिँदैन ।
नेपालको वायुमण्डलको पारदर्शिता ३ हजार मिटरबाट तल नझरेकाले तत्काल उडान प्रभावित हुने अवस्था नरहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६